बीमा जोखिम व्यवस्थापनको एक महत्वपूर्ण साधन हो। बीमित व्यक्तिले आफ्नो जीवन, सम्पत्ति वा दायित्वमा आउन सक्ने जोखिमको आर्थिक भार बीमक (बीमा कम्पनी) लाई हस्तान्तरण गर्ने प्रक्रियालाई बीमा भनिन्छ। मानव समाजमा विभिन्न प्रकारका विपत्ति र जोखिमहरू सधैं विद्यमान हुन्छन्, जुन कुनै पनि समय—आज, भोलि वा भविष्यमा—घट्न सक्छन् । त्यसैले दुर्घटना र जोखिमहरू स्वभावतः अनिश्चित हुन्छन्।


यस्ता अनिश्चित जोखिमहरूको आर्थिक भार हस्तान्तरण गरी क्षतिपूर्ति प्राप्त गर्ने उपयुक्त माध्यम बीमा हो। जोखिम वा दुर्घटनाबाट प्रभावित हुन सक्ने व्यक्ति वा संस्थाले आफ्नो आवश्यकताअनुसार निश्चित बीमा शुल्क तिरेर बीमा योजना खरिद गर्न सक्छन्, जसअन्तर्गत घटना भएमा क्षतिपूर्ति प्राप्त गर्ने व्यवस्था हुन्छ। बीमा दुई पक्षबीच हुने लिखित सम्झौता पनि हो, जसमा बीमित र बीमकबीच औपचारिक सहमति हुन्छ। यस प्रक्रियामार्फत बीमितको जोखिमको भार बीमकमा सारिन्छ।

बीमा निश्चित अवधिका लागि गरिन्छ। सो अवधिभित्र बीमितलाई क्षति पुगेमा बीमा कम्पनीले क्षतिपूर्ति प्रदान गर्दछ। बीमा प्रक्रिया प्रस्ताव फारम भर्ने र स्वास्थ्यसम्बन्धी विवरण पेश गर्नेबाट सुरु हुन्छ। यी फारमहरू सम्बन्धित बीमा कम्पनीबाट प्राप्त गर्न सकिन्छ र बीमित स्वयं वा अभिकर्तामार्फत पेश गर्न सकिन्छ। बीमकले उक्त प्रस्ताव स्वीकार गर्ने वा नगर्ने निर्णय गर्दछ। प्रस्ताव स्वीकृत भएपछि पहिलो किस्ता तिरेसँगै बीमा प्रक्रिया सुरु हुन्छ। त्यसपछि बीमा कम्पनीले शर्त तथा सुविधासहितका सम्पूर्ण कागजात बीमितलाई उपलब्ध गराउँछ, जसलाई बिमालेख भनिन्छ।

बीमा मुख्यतया दुई प्रकारका हुन्छन्:

१. जीवन बीमा
मानव जीवनसँग सम्बन्धित जोखिमको सुरक्षा गर्न गरिने बीमालाई जीवन बीमा भनिन्छ। यसले विपत्तिको अवस्थामा आर्थिक सुरक्षा प्रदान गर्दछ। जीवन बीमा व्यक्ति तथा उसको परिवारको भविष्य सुरक्षित बनाउनका लागि गरिन्छ। बीमाको अवधि समाप्त भएपछि बीमितले बिमालेखमा उल्लेखित रकम तथा बोनस प्राप्त गर्न सक्छ। जीवनमा आउने विभिन्न जोखिमहरूको सामना गर्न जीवन बीमाले महत्वपूर्ण सहयोग पुर्‍याउँछ।

जीवन बीमाको महत्व अत्यन्त ठूलो छ। यसले आर्थिक सुरक्षा प्रदान गर्नुका साथै बचत, लगानी, पूँजी निर्माण तथा कर छुट जस्ता फाइदाहरू दिन्छ। त्यसैले जीवन बीमा दीर्घकालीन बचत र परिवारको सुरक्षाको उत्तम उपाय मानिन्छ।

जीवन बीमाका प्रकारहरू:

  • आजीवन बीमा

  • सावधिक बीमा

  • म्यादी बीमा

२. निर्जीवन बीमा
निर्जीवन बीमा निश्चित अवधिका लागि गरिने करार हो, जसमा बीमा कम्पनी र बीमितबीच सम्झौता हुन्छ। उक्त अवधिमा बीमितको सम्पत्ति, मृत्यु वा अंगभंगबाट भएको वास्तविक क्षतिको आधारमा बीमा कम्पनीले क्षतिपूर्ति प्रदान गर्दछ। यो बीमा मुख्यतः सम्पत्ति र दायित्वसम्बन्धी जोखिमबाट जोगिनका लागि गरिन्छ। यद्यपि "निर्जीवन" शब्दले जीवनबाहेकका विषयलाई जनाए पनि यसले केही हदसम्म मानवीय पक्षलाई पनि समेट्छ।

निर्जीवन बीमाका प्रकारहरू:

  • अग्नि बीमा

  • सामुद्रिक बीमा

  • हवाई बीमा

  • मोटर बीमा

  • विविध बीमा

हालको समयमा बीमाको महत्व दिनप्रतिदिन बढ्दै गएको छ। तथापि, अपेक्षाअनुसार यस क्षेत्रमा विकास हुन सकेको छैन। बीमा सम्बन्धी जनचेतनाको कमी, अभिकर्ताहरूको निष्क्रियता, तथा प्रविधिसँग समायोजन हुन नसक्नु जस्ता कारणहरूले बीमा क्षेत्र अपेक्षित रूपमा फस्टाउन सकेको छैन। यदि यस क्षेत्रमा सुधारका लागि प्रभावकारी कदम चालिएमा भविष्यमा उल्लेखनीय प्रगति सम्भव छ।